३० भदौ, काठमाडौं। ११ वर्षपछि एकै साथ दुई पुस्तक लिएर पाठकसामु आएका छन्, पत्रकार सुधीर शर्मा। आइतबार राजधानीमा उनले लेखेका दुई पुस्तक ‘भिक्षु,व्यापार र विद्रोह : नेपालको भोट-चीन सम्बन्ध र भारत’ अनि ‘हिमालपारिको हुरी: गणतन्त्रपछि फेरिएको नेपाल-चीन सम्बन्ध’ सार्वजनिक भए ।
पुस्तकमा रोचक कुराहरु छन्, जस्तो कि कुनै भारतीय शासक विरुद्ध नेपाल तिब्बत चीनले एकसाथ मिलेर १४ सय वर्षअघि हमला गरेका थिए । चीनसँग औपचारिक सम्बन्ध गाँस्ने नरेन्द्रदेव पहिलो कूटनीतिज्ञ थिए ।
पृथ्वीनारायण शाहको जीवनकालभरि तिब्बती शासकहरुसँग विश्वासको सम्बन्ध बनेन, चीनसँग त सम्पर्क समेत भएन। एमाले र माओवादी मिलेर नेकपा बन्दा चीनले हौसिएर जुन भूमिका खेल्यो, त्यहाँ उसले शृंखलाबद्ध गल्ती गर्दै गयो। यस्ता थुप्रै खोज, सूचना र विश्लेषण समेटिएको पुस्तकका केही रोचक किस्सा :
१.चिनियाँ लालसेना किन्थे रोलेक्स घडी : सुधीर शर्माले पन्चवीरसिंह तुलाधरलाई उद्धृत गर्दै लेखेका छन्, ‘ल्हासाका घडी पसलमा आएर महँगी घडी किन्नेहरु कुनै स्थानीय तिब्बती थिएनन्, बरु चिनियाँ लालसेना थिए । उनीहरु फौजी पोशाकमै त्यस्ता महँगा पसल खोज्दै पुग्ने गर्थे।’
भर्खरै कम्युनिस्ट शासन सुरु भएकाले चीनमा महँगा वस्तु सुलभ थिएनन् । अझ पश्चिमाहरुले उत्पादन गरेको भनेर सैनिकहरुका लागि यस्ता कुरा किन्न प्रतिबन्ध थियो । तर उनीहरुले सियोधागो समेत मगाउँथे ताकि आफूले लगाएको सैनिक पोशाकभित्र त्यस्ता सामग्री लुकाएर लैजान सकियोस् ।
२.अंशुवर्माकी छोरी होइनन् भृकुटी : यसअघि केही इतिहासकारहरुले भृकुटीलाई सगौरव तिब्बतकी राजकुमारी बनेर गएको लेखेका छन् । कविवर माधव घिमिरेले गाउँछ गीत नेपालीमा लेखेकै छन्, भृकुटी तारा उदाइन् उत्तर चीन तिब्बत । तर, हरिततारा भनेर चिनाउने गरिएकी भृकुटी रहरले नभई तिब्बती राजाको करकापमा बाध्य भएर बिहे गरेको शर्माले विभिन्न दृष्टान्त मार्फत पुष्टि गरेका छन् । उनी राजा उदयदेवकी छोरी र नरेन्द्रदेवकी दिदी वा बहिनी रहेको तिब्बती दस्तावेजमा प्रष्ट उल्लेख छ ।
३.तिब्बती सरकार रिसायो गोर्खालीसँग : २००६ सालमा चीनमा भर्खरै कम्युनिस्ट क्रान्तिपछि तिब्बत लिन खोजिरहेको थियो लालसेनाले । दलाई लामाको सरकार नेपालको सहयोग लिएर अस्तित्व जोगाउन चाहन्थ्यो ।
विसं १९१२ को थापाथली सन्धिको दफा २ अनुसार तिब्बतले नेपालसँग सैन्य सहयोग माग्यो । तर नेपालमा राणा शासन हट्न लागेकाले यता अर्कै संकट थियो । नेपालले तिब्बतलाई सघाएन । त्यसपछि तिब्बती काजीहरु रिसाए । उनीहरुले प्रश्न गरे, ‘नेपालले आजसम्म हामीलाई शोषण गर्नसम्म गर्यो, हामीलाई आपत् पर्दा यस्तो कुरा गर्ने ?’
यस्तैमा भारतीय मिसन प्रमुख सुमल सिन्हाले काजीहरुलाई सम्झाए, ‘नेपाल आफैं बेहालमा छ । राजा त्रिभुवन आजभोलि दिल्लीमा छन् । नेपालमा आन्दोलन चलिरहेछ ।’ अनि मात्रै तिब्बती सरकारका अधिकारीहरु शान्त भएका थिए । नेपाल र भारत दुवैको साथ नपाएपछि तिब्बतीहरु चीनसँग आत्मसमर्पण गरेका थिए ।
एकैपल्ट ८ हजार चिनियाँ सैनिक बस्न आएपछि नेपाली व्यापारीहरुको व्यापार भने त्यसबेला खुबै बढेको किताबमा उल्लेख छ ।
४. कम्युनिस्ट सरकार आएपछि नेपाली व्यापारीको बेहाल : सुधीर शर्माले यी तथ्य लेख्दा कतिपय इतिहासका सामग्री अध्ययन गरेका छन् भने कतिपय चाहिं आफैं ल्हासा पुगेर स्थानीय नेपालीसँग कुरा गरेका छन् । त्यसरी लेखिएको पुस्तकका अनुसार चिनियाँहरु तिब्बतलाई बढ्ता नेपालसँग होइन मूलभूमि अर्थात् मेनल्यान्ड चाइनासँग जोड्न कोसिसमा थिए।
चीनतर्फ रातारात काम गरेर हवाई अनि स्थलमार्ग मार्फत सम्पर्क बढाएपछि नेपाल वा भारत मात्रै अब तिब्बतीका लागि विकल्प रहेन । चीनबाटै तिब्बतका लागि सामान आउन थाले ।त्यसबेला तिब्बतमा नेपाली रुपियाँ, मल्लकालीन मोहर लगायत पुराना चिनियाँ पैसा चल्ने गरेकामा अचानक कम्युनिस्ट सरकारले नयाँ मुद्रा जारी गरेर त्योमात्रै चल्ने घोषणा गरिदियो ।
तिब्बतमा टन्न कमाएर बसेका नेपाली व्यापारी अचानक टाट पल्टिए ।
५.बीपीले सगरमाथाको चुचुरो नेपालको भने, महेन्द्रले आधाआधा भनेर चीनसँग झुके- इतिहासमा पढ्दा हामी बीपी कोइराला राष्ट्रवादी कि महेन्द्र भनेर बहस गरेको भेट्छौं । कसैले महेन्द्र तानाशाह भए पनि राष्ट्रवादी थिए भनेको पनि सुनिन्छ । शर्माले आफ्नो पुस्तकमा महेन्द्रले चीनसँग कतिपय मुद्दा चलाखीपूर्ण अडान लिएको, कतिपय मुद्दामा चाहिं नचाहिंदो सम्झौता गरेको तथ्यहरु पुस्तकमा राखिदिएका छन् ।
बीपी र माओ त्सेतुंग वार्ता क्रममा चिनियाँ पक्षले छिङ राजतन्त्रकालको नक्सा देखाउँदै सगरमाथा र त्यसभन्दा पाँच माइल दक्षिणसम्मको भूभागमा दाबी गर्यो । उताका समकक्षी प्रधानमन्त्री चाउएन लाई त्यहाँ सहभागी थिए ।
नेपाली पक्षले नमानेपछि मतभेदपूर्ण इलाका घोषणा गर्ने चिनियाँ प्रस्ताव थियो, जसलाई बीपीले मानेनन् । पछि पनि चाउएन लाईले यसमा मतभेद बाँकी रहेको भन्दा बीपीले सगरमाथा चुचुरो नेपालकै हो भनी अडान राखेका थिए ।
तर, तिनै महेन्द्रले कोदारी राजमार्ग बनाउन पहल लिंदा त्यसअघि प्रधानमन्त्री बीपीले भने नमानेको दृष्टान्त पुस्तकमा छन् । प्रशस्त तथ्य प्रमाण र सन्दर्भ सामग्री राखेर लेखिएका पुस्तक पढ्दा यसअघि नेपालमा व्यक्ति र घटनाविशेषलाई लिएर बन्ने गरेका कतिपय न्यारेटिभ भने शर्माले भत्काइदिएको बुझ्न सकिन्छ ।
प्रतिक्रिया 4