यशोधरा
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
राजकुमारी यशोधराको जन्म आज भन्दा २५५० वर्ष पूर्व बैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्मको दिन अर्थात् बैशाख पूर्णिमाका दिन कोलिय ग्राममा भएको हो । यो स्थान हाल देवदह, रूपन्देहीमा पर्दछ ।
कोइलीहरूको दरबार
[सम्पादन गर्नुहोस्]जसरी बुद्ध शाक्यहरूको राजमहलमा सुखपूर्वक हुर्के, राजकुमारी यशोधरा पनि त्यतिकै लाडप्यारले कोइलीहरूको दरबारमा हुर्किन् । अत्यन्त सुन्दरी, वीणावादनमा निपूर्ण र करुणापूर्ण भएकीले अनेक सुन्दर राजकुमारहरूबाट प्रणय र विवाहको प्रस्ताव आएको थियो । सिद्धार्थको बारेमा यो चर्चित थियो कि उनी घण्टौं दरबारबाट अलोप भई रुखको मुनि बसी ध्यान गर्थे र भविष्यमा जोगी हुने संजोग थियो । यो सब थाहा पाउँदापाउँदै र आफन्तहरूले रोक्दारोक्दै पनि स्वयंवरमा राजकुमारी यशोधराले राजकुमार सिद्धार्थलाई नै चुनिन् ।
बुद्धको गृहत्याग र यशोधरा
[सम्पादन गर्नुहोस्]बुद्धको गृहत्यागपछि कत्ति पनि विचलित नभई यशोधराले छोरा राहुललाई हुर्काइन्, शुद्धोधन र प्रजापति गौतमीलाई ढाढस दिई उनीहरूको सेवा गरिन् । प्रसिद्ध भियतनामी बौद्ध विद्वान थिक् न्यात् हन्ह र ओशोको भनाई के छ भने बुद्धलाई साधना मार्गमा लाग्न र सांसारिक आकर्षणमा नफस्न यशोधराले बराबर स्मरण गराइ रहन्थिन् । गृहत्यागको दिन बुद्धको प्रिय घोडा कन्थकलाई तयार गरी सारथी छन्दकलाई त्यो रात दरबारमै सुत्न लगाइन् । राति गृहत्याग पूर्व आफ्नो आजै जन्मेको बच्चा र पत्नीलाई अन्तिम पटक हेर्ने लालसा लिई जब बुद्ध खोपीमा आए, बुद्ध साहित्य अनुसार देवताहरुद्वारा बुद्ध मोहमा नफसून् भनी यशोधराको आंचलले राहुलको मुख छोपियो तर ओशो र थिक् न्यात् हन्हको भनाइ के छ भने वास्तवमा यशोधरा जागेकै थिइन् र उनले जानेरै बुद्ध ममता मोहमा नफसून् भनी आफ्नो र बच्चाको मुख छोपी दिइन् ।
बुद्धले वनमा गरेका तपस्याहरू यशोधराले दरबारमा गरिन् । जब यशोधराले खबर सुनिन्- बुद्ध एक छाक खानुहुन्छ, भुईंमा सुत्नु हुन्छ र साधारण चीवर लागउनु हुन्छ । उनले पनि दरबारमै बसी सोही अनुशरण गरिन् ।
बुद्धत्व प्राप्त भएपछि जब बुद्ध कपिलवस्तु आउनु भयो, बुद्धलाई दर्शन गर्न सबै आए तर यशोधरा आइनन् । बुद्ध नै सारिपुत्रलाई भेट्न जानु भयो । त्यहाँ यशोधराले बुद्धको पाउ स्पर्श गरिसके पछि एक गहन प्रश्न गरिन्- जुन सत्य तपाईँले निरन्जना नदीको तटमा बोधिवृक्षको मुनि प्राप्त गर्नु भयो के त्यो सत्य यहाँ छैन ? र यहाँ त्यसको बोध हुन सक्दैन ?
बुद्ध निरुत्तर हुनु भयो । यो प्रश्नले यशोधराको समझ र प्रज्ञाको गहिराई देखाउँछ । राहुलले प्रव्रज्या लिँदा यशोेधराले विरोध गरिनन् । बरु स्वयं आफैंले पनि प्रव्रज्या मागिन् ।
यशोधराको यो पक्ष
[सम्पादन गर्नुहोस्]बुद्ध साहित्यमा अनेक साधिकाहरु बिशाखा, आम्रपाली, प्रजापति गौतमी, खजुतरा, कृषा गौतमी इत्यादिको बारम्बार उल्लेख आउँछ तर प्रव्रज्यापछि यशोधराको कहीँ उल्लेख भेटिँदैन । यशोधराले संघमा आफूलाई म बुद्धकी पत्नी हुँ भनेर कुनै आदर मागिनन् र अति साधारण जीवन व्यतित गरिन् । उनी आश्रममा सफाइ र रोगीहरूको सेवाको कार्यहरु गर्थिन् । राहुल अर्हत्व प्राप्ति पछि बुद्धका दश गन्धर्वहरु मध्येका एक प्रमुख आचार्य भइसकेका थिए । एक बुद्ध पुरुषकी पत्नी तथा प्रमुख आचार्यकी आमा यशोधराले संघको कुनै महत्त्वपूर्ण पद नलिई नेपथ्यमै रहन स्वीकार गरिन् । बुद्धसंघमा पूर्णरूपले आफीलाई विलीन गरेकी यशोधराको यो पक्ष आफैँमा अति प्रशंसनीय छ ।
यशोधराको अन्तिम वार्तालाप
[सम्पादन गर्नुहोस्]यशोधराले बैशाख पूर्णिमाकै दिन ७८ वर्षको उमेरमा आफ्नो आराध्यसँग राजगृहीको बेनुवनमा गरेको अन्तिम वार्तालाप बडो मार्मिक छ । उनले आग्रह गरेकी थिइन्, अब म वृद्ध भएँ, शरीरका सबै अङ्ग प्रत्यंगहरु थाके । मैले कोइलीकी राजकुमारी र शाक्यकी युवराज्ञी र बुद्धसंघकी भिक्षुणीको आफ्नो स्वधर्म निष्ठापूर्वक पूरा गरेकी छु । मलाई जातीय स्मृति भयो । विगतका अनेक जन्ममा कुनै न कुनै रूपमा मैले अनन्य प्रेम र समर्पणले तपाईँको सेवा गरेकी छु । तपाईँको अनुमतिले शरीर छोड्न चाहन्छु । बुद्धसंघ तथा तपाईँप्रति आफूले जीवनमा कुनै भूल गरेकी भए माफी पाऊँ । यति भनी बुद्धलाई तीनपटक परिक्रमा गरी आफ्नो कुटीमा आई बुद्धप्रति श्रद्धाले दीयो बालेर हृदयले बारम्बार प्रणाम गरी यशोधराले शान्त भावले शरीर त्याग गरिन् । [१]
राहुल मार्फत भेट
[सम्पादन गर्नुहोस्]सात वर्षपछि जब बुद्ध कपिलवस्तु फर्के, त्यसबेला यशोधराले राहुल मार्फत बुद्धलाई भेट्ने प्रयास गरिन् । सोझै आफै भेटघाट गर्न गइनन् बरु राहुललाई सुन्दर वस्त्र पहिराएर बुद्धले भोजन गरिरहेको ठाउँमा लगिन् र बुद्धलाई देखाउँदै भनिन्, बाबु, के तिमीले उहाँलाई चिन्छौ ?
बुद्ध कपिलवस्तु आएको सात दिन मात्र भएको थियो । राहुलले त्यसै आधारमा भन्यो, हो चिन्छु, उहाँ बुद्ध हुनुहुन्छ ।
यो सुनेर यशोधराले गहभरि आँसु गराउँदै भनिन्, बाबु, त्यो सज्जन पुरुष जसको शरीरबाट सुनौलो तेज निस्किरहेको छ र जो लस्करै बसेका भिक्षुहरूको माझमा बस्नु भएको छ, उहाँ नै तिम्रो पिता हुनुहुन्छ । भिक्षु हुनुअघि उहाँ यस राज्यका उत्तराधिकारी हुनुहुन्थ्यो । उहाँको नजीकमा जाऊ र सोध, बुबा, म राजकुमार हुँ । त्यसैले भविष्यमा म राजा बन्नेछु । राजामात्र होइन राजाहरूको पनि राजा बन्नेछु । त्यसैले मलाई मेरो अधिकार दिनुहोस् किनभने छोरालाई बाबुको सम्पत्ति लिने अधिकार हुन्छ । सात वर्षको राहुल आफ्नी आमाको आज्ञा अनुसार बुद्धको नजिक पुग्यो र भन्न थाल्यो, महाश्रमण, तपाईँको छाया बडो शीतल छ ।
त्यसबेला बुद्धले खाना खाइवरि उठ्न थालेका थिए । उनले राहुललाई ध्यानले हेरे । अनि राहुलले आफनी आमाले सिकाएको कुरा जस्ताको तस्तै भन्न थाल्यो । बुद्ध केही बोलेनन्, बोल्न सकेनन् । उनी जुरुक्क उठेर हिँड्न थाले । राहुल पछिपछि हिँड्दै आमाले सिकाएको कुरा दोहोर्याउँदै जान थाल्यो ।
बुद्ध सोझै विहारमा पुगे र उपतिष्यलाई भने, राहुललाई यहाँ ल्याऊ र तुरुन्तै प्रव्रज्जित गराऊ । बुद्धले उत्तराधिकारमा दिने सम्पत्ति भनेकै संन्यास दिनु थियो । पछि बुद्धले आफ्ना दश प्रमुख शिष्य मध्ये राहुललाई एक प्रमुख शिष्य नियुक्त गरे । [२]
थाइ भिक्षु बुद्धदास भिक्खुले बुद्धको जीवनीको सानो विवरणमा कपिलवस्तुमा यशोधरासँगको पुनः भेटको प्रसंगलाई यस प्रकार लेखेका छन्, यशोधरा पति वियोगबाट धेरै मर्माहत भएकी हुनाले भगवान् बुद्धको दर्शन गर्न आउन सकिनन् । अरूहरूले जस्तै धर्मदेशना सुन्न पनि आउन सकिनन् । राजा शुद्धोधनका अनुरोध अनुसार बुद्ध भगवान आफैँ यशोधरादेवीलाई दया राखी दर्शन दिन जानु भयो । राजाले भगवान बुद्धका समक्ष यशोधरादेवीका असल गुणहरूको बखान गर्नु भयो । भगवान बुद्धको दर्शन तथा धर्मदेशना सुन्न पाएर तिनी प्रफुल्लित भइन् । जीवनभर धर्मको आचरण गर्ने पनि निर्णय गरिन् । [३]
उपसंहार
[सम्पादन गर्नुहोस्]यशोधराको बारेमा बौद्ध साहित्यमा छिटपुट संवाद मात्र प्राप्त छन् तर ती संवादले यशोधरा पनि गार्गी र मैत्रेयी जस्तो विदुषी थिइन् भन्ने अनुमान गर्न सकिन्छ । पातिव्रत्य धर्ममा उनको स्थान महाभारतमा वर्णित सावित्री सरह छ जसले आफ्नो त्याग र तपस्याले आफ्नो घर र माइती दुवै कुलको यश बढाएकी छिन् भने आफ्नो सेवाले आफ्नो पतिलाई अमर बनाएकी छिन् । त्यागको उनी अनुपम नमूना हुन् किनभने उनले विवाह गरेदेखि प्रव्रज्या हुँदासम्म कहिल्यै केही कुरा माग गरिनन् बरु आफ्ना पतिको व्यक्तित्व विकासमा योगदान मात्र गरिन् । आफूलाई मेटाउनमा नै गौरव अनुभव गरिन् । कहाँसम्म भने उनको जन्म र मृत्युको तिथि पनि आफ्नो छैन ।
यशोधराका बारेमा पछिका साहित्यकारमध्ये रवीन्द्रनाथ ठाकुर तथा मैथिली शरण गुप्तले काव्य रचना गरेका छन् । गुप्तले यशोधरा नाम गरेको एउटा महाकाव्य नै रचना गरेका छन् । [४]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]
- ↑ स्वामी आनन्द अरुण–सन्त दर्शन
- ↑ सद्धातिस्स– बुद्धः जीवन और दर्शन
- ↑ भिक्षु बुद्धदास भिक्खु बुद्धको जीवनी
- ↑ यशोधरा महाकाव्यका लागि हेर्नु होस् http://www.kavitakosh.org/kk/index वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-२८ मिति